काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
आगलागीपछि सुरक्षाकर्मी र स्थानीयवासीले चालकलाई बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएका थिए। उनको उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार घटनाअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको थियो। प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको हुनसक्ने देखिएको छ।
घटनास्थलबाट फेला परेको चालकको लाइसेन्सका आधारमा प्रहरीले सुरुमा मृतकलाई दावा लामा भएको जनाएको थियो। तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू सकुशल रहेको र लाइसेन्स आफ्नो भएको बताएपछि मृतकले उनको लाइसेन्स प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ।
मृतकको वास्तविक नाम, ठेगाना र पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान गर्न समिति गठन भइसकेको छ। प्रहरीले आगलागीको कारण र मृतकको पहिचानसहित घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।



















