काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक बसभित्रै रहेको र बाहिर ननिस्किएको पाइएपछि प्रहरीले चालकले नै आगो लगाएको हुन सक्ने आशंका गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पनि बसमा चालकले नै आगजनी गरेको हुन सक्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्छ। तर अहिलेसम्मको अनुसन्धानमा चालकबाटै आगजनी भएको भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने।
प्रहरीका अनुसार बस चालक काभ्रेका २५ वर्षीय दावा लामा हुन्। आगलागीमा घाइते भएका लामालाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।
आगलागीको कारण भने खुलिसकेको छैन। प्रारम्भिक अनुसन्धानमा ट्राफिक प्रहरीसँग भएको विवादपछि चालकले बसमा आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ।
बसमा लागेको आगो सशस्त्र प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















