प्रत्येक चार वर्षमा आयोजना हुने गरेको एसियाली खेलकुद एसियाडमा नेपालले सहभागिता जनाउन थालेको सात दशक बितिसकेको छ । हरेक संस्करणमा नेपाली खेलाडीले नयाँ उत्साह, नयाँ सम्भावना र पदकको आशा बोकेर प्रतिस्पर्धा गर्दै आएका छन् । एसियाडमा केही खेलाडीले पदक जितेर इतिहास रच्दै नेपालको राष्ट्रिय झण्डा उचाल्ने अवसर पाइसकेका छन् तर एउटा प्रश्न अझै अनुत्तरित छ—एसियाली खेलकुदमा नेपालले स्वर्णपदक कहिले पाउला ?
एसियाडमा हालसम्म सिमित नेपाली खेलाडीले मात्र रजत र काँस्य पदक पाएका छन् । नेपालको यात्रा स्वर्णपदकसम्म पुग्न अझै बाँकी छ । त्यसैले अब केवल सहभागितामा मात्र सीमित नभएर स्वर्णपदकको प्रतीक्षा अन्त्य गर्ने चुनौती पनि रहेको छ । राष्ट्रिय खेलकुद परिषदले जापानको नागोयामा असोज ३ गतेदेखि औपचारिक रुपमा उदघाटन हुने बिसौं एसियाली खेलकुदको तयारीकालागि केही खेलको तीन वर्षसम्म प्रशिक्षण जारी राखेर ठूलो लगानी गरेको छ । यस्तो तयारीको जिम्मा बिगतका एसियाली खेलकुदमा लगातार दुईपटक काँस्य पदक जित्न सफल दिपक विष्टको नेतृत्वको टोलीलाई दिइएको थियो । नेपाली खेल टोलीको यसपटकको लक्ष्य रहेको छ, दोहरो अङ्कको पदकसहित स्वर्ण पदक जित्ने । उक्त लक्ष यथार्थमा परिणत होला कि नहोला आम नेपालीको प्रतीक्षाको विषय बनेको छ ।
नागोयाको प्रतिस्पर्धा
यसपटक एसियाडमा नेपालले विभिन्न २१ खेलमा प्रतिस्पर्धाका लागि ५७ महिला तथा ७८ पुरुष गरी १३५ जना खेलाडी पठाउँदैछ । नेपालको खेल टोलीमा कूल २११ जना रहेको सार्वजनिक गरिएको थियो तर नेपाल ओलम्पिक कमिटी, विभिन्न सङ्घका प्रतिनिधि, आयोजकका तर्फबाट आमन्त्रण गरिएका रेफ्री र ‘जज’हरु आदि गरी नेपालबाट जापान पुग्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ । एसियाडमा सहभागिताका लागि नेपाल सरकारको ठूलो लगानी रहेको छ । भोटेकोशीको बाढीको समस्याले मुलुकको आर्थिक अवस्था जर्जर भैरहेको वर्तमान अवस्थामा नेपाल सरकारको लगानीमा दुई सयभन्दा बढीको खेल टोलीलाई जापान पठाउनुभन्दा टोलीको आकार सानो बनाई सहभागी गराउँदा उचित हुन्थ्यो भन्ने तर्क पनि रहेको छ ।
सबै सहभागी मुलुकले पदक प्राप्तिलाई नै मूल लक्ष्य मानेर मैदानमा उत्रदै छन् । नेपालले पनि पदक जित्न सक्ने सम्भावित खेललाई मुख्य जोड दिँदा उचित हुन्थ्यो । सन् २०२३ मा चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ वटा खेलमा २५३ जना खेलाडीलाई सहभागिता गराएको तुलनामा यसपालि टोली केही सानो छ । नेपालले यो एसियाडमा आर्चरी, ब्याडमिण्टन, बक्सिङ, क्यानोइङ, क्रिकेट, साइक्लिङमा भाग लिदैछ । नेपाली खेलाडीहरुले गल्फ, जुडो, कबड्डी, कराते, स्केट बोर्ड, सफ्ट टेनिस, स्क्वास, स्विमिङ, टेबुलटेनिस, ताईक्वाण्डो, टेनिस, महिला भलिबल, कुस्ती र उसु खेलमा पनि प्रतिस्पर्धा गर्दैछन् । नेपालले विभिन्न एसियाडमा गरी सर्वाधिक १३ वटा पदक जितिसकेको ताइक्वाण्डोमा छनोट चरणमा पराजय भएपछि तीन खेलाडीलाई मात्र पठाएको छ ।
नेपालको सहभागिता धेरै खेलमा भएता पनि मुलुकको छवि ज्वाज्वल्यमान बनाउने कार्य भने सीमित खेलबाट हुने निश्चित छ । तैपनि त्यति महत्वपूर्ण प्रतियोगितामा भाग लिन गएका नेपाली खेलाडीहरुले खेलको न्यूनतम् मापदण्ड भने पार गर्नै पर्ने हुन्छ । एसियाडका लागि अनिवार्य सहभागी हुनुपर्ने एथलेटिक्स, पौडीजस्ता खेलबाहेक अन्य प्रत्येक खेलमा नेपालले भाग लिएको औचित्य पुष्टी गर्नु जरुरी ठानिएको छ । एसियाड जस्तो उच्चस्तरीय प्रतियोगितामा राष्ट्रिय कीर्तिमानको कुनै अर्थ रहन्न । नेपालको वैदेशिक प्रदर्शनको इतिहास खासै सन्तोषजनक भएको पाइँदैन । यस्तै भर्खरै नेपालमा प्रवेश भएका खेलका लागि पनि एकैचोटी एसियाड उपयुक्त मञ्च पक्कै हुन सक्दैन ।
पदकको अपेक्षा
जापानमा नेपालको प्रदर्शनको पूर्व अनुमान गर्दा विगतको नतिजाको मूल्याङ्कनको आधारमा टिम खेलको तुलनामा ब्यक्तिगत प्रतिस्पर्धामा नेपालले राम्रो नतिजा हासिल गर्न सक्ने गर्ने आँकलन गर्न सकिन्छ । विशेषगरी मार्सलआर्टस्का कराते, ताइक्वाण्डो, बक्सिङजस्ता खेलमा नेपालले पदकको अपेक्षा गर्नसक्ने देखिन्छ । ग्वाङझाउमा भएको एसियाडमा रजत पदक जितिसकेकी कराते खेलाडी एरिका गुरुङ लगातार तीन वर्षको प्रशिक्षणपछि आसन्न एसियाडमा प्रतिस्पर्धा गर्ने भएकाले उनलाई स्वर्ण पदकको सम्भावित खेलाडीका रुपमा हेरिएको छ । उनले गत एसियाली खेलकुदपछि अन्य विभिन्न महत्वपूर्ण वैदेशिक प्रतियोगितामा समेत स्वर्णलगायतका पदक मुलुकमा भित्र्याउन सफ भएकीछिन् । उनले महिलाहरुको ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।
एसियाडमा नेपालबाट सहभागी हुने खेलाडीहरुमध्ये जापान पुग्ने पहिलो टोली करातेको थियो । नेपाली कराते टोलीले एसियाली खेलकुदको थप तयारी टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा गरेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका तीन पुरुष तथा पाँच महिला कराते खेलाडीलाई नै पदकको दाबेदारका रुपमा सम्बन्धित प्रशिक्षकले लिएका छन् । नेपालको तर्फबाट बक्सिङलाई पनि पदक भित्र्याउने सम्भावित खेलका रुपमा हेरिएको छ । विश्व च्याम्पियनशीप बक्सिङमा पहिलोपटक कास्य पदक जित्दै नेपाली खेलाडीहरुमध्ये हालसम्मकै सबैभन्दा सर्वाधिक राशि ७५ हजार डलर पुरस्कार पाउन सफल बक्सर चन्द्रबहादुर थापाबाट खेल अधिकारीहरुले ठूलै पदकको आशा गरेका छन् ।
नेपालले एसियाडमा पहिलोपटक टिम खेलमा पनि विगतको भन्दा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको छ । गत एसियाली खेलकुदमा कास्य पदक जितेको महिला कबड्डी टिमको उही सेट तीन वर्षको प्रशिक्षणपछि भारतमा थप प्रशिक्षण र बङ्गलादेशमा अभ्यास खेलको अनुभवसहित एसियाली खेलकुदमा उत्रदैछ । वर्षभरि नै व्यस्त कार्यतालिकामा अभ्यास गरिरहेको नेपाली पुरुष क्रिकेट टिम मलेशियामा एसिसी प्रिमियर कप जितेर उच्च मनोबलका साथ एसियाडमा सहभागी हुँदैछ । दक्षिण एसियाली खेलकुदमा रजत पदक जितिसकेकको नेपाली महिला भलिबलले पनि एसियाडमा प्रतिस्पर्धा गरिरहेको छ । नेपाली महिला भलिबल टोलीले एभिसी सेन्ट्रल जोन महिला भलिबलजस्ता प्रतियोगितामा उपाधि जितिसकेको छ ।
विशिष्ठ कक्षबाट बिदाई
नेपालमा पहिलोपटक खेलाडीलाई प्रतियोगितामा खेल्न विदेश जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षबाट बिदाई गरी उनीहरुको मनोबल उकास्ने प्रयत्न गरिएको छ । विगतदेखि नै जतिसुकै महत्वपूर्ण प्रतियोगिताकालागि विदेश जाँदा तथा उपाधि हासिल गरेर स्वदेश फर्कदा समेत खेलाडीहरुले सर्वसाधारणले प्रयोग गर्ने कक्ष नै प्रयोग गर्ने गर्दथे । एसियाडका लागि जापान गएका कराते खेलाडीहरुलाई बिदाई गरी यस्तो कार्यको थालनी गरिएको थियो ।
जापान जाने सबै खेलाडीहरुलाई विशिष्ठ कक्षबाटै बिदाई गरिदैंछ । यस्तो व्यवस्थाबाट खेलाडीहरुले लामो लाइन बस्नु पर्ने झन्झटबाट मुक्त भएका छन् तर फेरि मलेशियामा एसिसी प्रिमियर लिग जितेर हालै मलेशियाबाट स्वदेश फर्केको नेपाली क्रिकेट टिमलाई भने विशिष्ठ कक्षमा स्वागत गरिएन । नेपालमा कीर्तिमानी आरोहीहरुले समेत नेपालको विमानस्थलमा सर्वसाधारण सरह नै सम्पूर्ण प्रक्रिया गर्नुपर्ने बाध्यता रहेको छ ।
इतिहासतर्फ फर्कदा
नेपालले एसियाली खेलकुदको प्रारम्भदेखि नै निरन्तर सहभागिता जनाउँदै आइरहेको छ । भारतको नयाँदिल्लीमा सन् १९५१ मा आयोजना भएको पहिलो एसियाली खेलकुदमा एथलेटिक्सतर्फ धावक स्वर्गीय गजराज जोशीले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसपछि सन् १९५४ मा फिलिपिन्सको मनिला तथा सन् १९६२ मा इण्डोनेशियाको जकार्तामा भएको एसियाली खेलकुदबाहेक नेपालको सहभागिता हालसम्म अन्य कुनै एसियाली खेलकुदमा छुटेको छैन । जापानले यस वर्ष समेत गरी हालसम्म तीनपटक एसियाडको आयोजना गरिसकेको छ ।
पहिलोपटक सन् १९५८ मा टोकियोमा तेस्रो एसियाली खेलकुद आयोजना हुँदा नेपालले एथलेटिक्समा मात्र दुई खेलाडी पठाएको थियो । त्यतिखेर धावक स्वर्गीय भूपेन्द्र सिलवालले म्याराथन दौडमा सातौं स्थान प्राप्त गरेका थिए । सन् १९९४ मा हिरोसिमामा १२ औं एसियाली खेलकुदमा नेपालले ताइक्वाण्डोमा दुई र करातेमा एक कास्य पदक प्राप्त गरेको थियो । विभिन्न एसियाली खेलकुदमा खेलेका केही नेपाली खेलाडीको निधन समेत भैसकेको छ ।
पहिलो पटक जित्दा
एसियाडमा नेपालले पदक पाउन सन् १९५१ देखि सन् १९८६ सम्म कुर्नुप¥यो । सन् १९८६ मा दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न दशौं एसियाली खेलकुदमा नेपालले पहिलोपटक ठूलै सफलता प्राप्त गरेको थियो । एकैपटक ताइक्वाण्डोतर्फ चार र बक्सिङतर्फ चार गरी कूल आठ कास्य पदक जित्नु सानो उपलब्धि थिएन । अझ उल्लेखनीय पक्ष त एसियाली खेलकुद लगत्तै सियोलमै सन् १९८८ मा आयोजित गृष्मकालीन ओलम्पिकमा एसियाडमा पदक जितेका ताइक्वाण्डो खेलाडी विधान लामाले पुनः कास्य पदक प्राप्त गरी नयाँ इतिहास बनाउन सफल भएका थिए तर त्यस ओलम्पिकमा ताइक्वाण्डोलाई प्रदर्शन खेलका रुपमा समावेश गरिएकाले उनको पदकलाई आधिकारिक मान्यता दिइएन । त्यसपछि नेपाल एसियाडको पदक तालिकामा लगातार नछुटे पनि अत्यधिक पदक जितेको इतिहास फेरि बनाउन सकेको छैन ।
अत्यधिक पदक जितेर फर्कदा
दक्षिण कोरियाको एसियाडमा पदक जितेर स्वदेश फर्केका खेलाडीहरुलाई पहिलोपटक भव्य सम्मानसहित १४ अञ्चलकै परिक्रमा गराइएको थियो । त्यतिखेर राजधानी सियोलमा भएको दशौं एसियाली खेलकुदमा पहिलोपटक पदक त्यो पनि अत्यधिक संख्यामा प्राप्त गरेर कीर्तिमान नै कायम गरेर नेपाली खेलाडीहरुले प्रशंसनीय कार्य गरेका थिए । ताक्वाण्डोमा चार र बक्सिङमा चार गरी आठ वटा पदक मुलुक भित्रिनु सानो सफलता थिएन । यसरी पदक जितेका खेलाडीहरुलाई काठमाडौंमा विमानस्थलदेखि भव्य स्वागतका साथ विजय जुलुस निकालिनुका साथै देशका विभिन्न भागमा परिक्रमा गराइएको थियो ।
खेलाडीहरुले मुलुकका विभिन्न भागमा सम्मानका साथै विभिन्न जिन्सी सामान र नगद पुरस्कारका साथै प्रत्येक पदक विजेताले राजदूत मोटरसाइकलसमेत प्राप्त गरेका थिए । त्यसबखत विभिन्न अञ्चलमा रहेका तत्कालीन अञ्चलाधीशहरुले यस्तो कार्यको संयोजन गरेका थिए । त्यसपछि कुनै पदक पनि पदक विजेता खेलाडीले यसरी देशव्यापी परिक्रमासहित ठूलो सम्मान प्राप्त गर्ने अवसर पाएका छैनन् ।
हालसम्मको पदकको स्थिति
नेपालले सन् १९५१ देखिनै एसियाली खेलकुदमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको भएता पनि हालसम्म कुनै स्वर्ण पदक पाउन सकेको छैन । नेपालले विभिन्न एसियाली खेलकुदमा गरी तीन रजत र २३ काँस्य पदक गरी कूल २६ पदक हासिल गरेको छ तर ७५ वर्षको सहभागिताको यात्रा अवधिमा प्राप्त पदकको संख्या खासै उल्लेखनीय होइन । रजत पदक प्राप्तिको प्रसङ्गको चर्चा गर्दा ताइक्वाण्डो खेलाडी सविता राजभण्डारीले सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा मुलुकका लागि एसियाली खेलकुदमा पहिलो रजत पदक जितेकी थिइन् ।
सन् २०१८ मा इण्डोनेशियाको जकार्तामा भएको एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङको क्रस कन्ट्री टिम इभेण्टमा दोस्रोपटक रजत पदक जितेको थियो । सन् २०२३ मा चीनको हाङ्गझाउमा भएको एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले महिलाहरुको ६८ केजी तौल समूहको करातेमा मुलुकको लागि रजत पदक जितेकी थिइन् । पछिल्लो पटक चीनमा नेपाली महिला कबड्डी टिमले पनि कास्य पदक प्राप्त गरेको थियो । यस्तै सन् २००२ र सन् २००६ मा गरी ताइक्वाण्डो खेलाडी दिपक विष्ट एसियाली खेलकुदमा दुई कास्य पदक जित्ने एकमात्र नेपाली खेलाडी बन्न सफल भएका थिए ।
बिर्सनै नसकिने त्यो एसियाड
जापानको हिरोसिमामा सन् १९९४ भएको १२ औं एसियाडलाई कहिल्यै बिर्सिन नसकिने एसियाडका रुपमा स्मरण गर्न सकिन्छ । उक्त प्रतियोगितामा नेपाली खेल टोलीको नेतृत्व गरी सेभ दि मिसनका रुपमा गएका तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य नरेश अधिकारीको जापान पुगेलगत्तै दुःखद निधन भएको थियो । त्यतिखेर विभिन्न खेलका प्रतियोगिता सुरु हुदाँ खेलाडीहरुले कालोपट्टी बाँधेर शोक प्रकट गरेका थिए । जापानी अधिकारीहरुले स्वर्गीय अधिकारीको शव अन्तिम संस्कारका लागि नेपालसम्म ल्याउन सहयोग गरेका थिए ।
सोही एसियाडमा अर्को बिर्सिन नसकिने घटना पनि घटेको थियो । मुलुकको प्रतिनिधित्व गरेर खेल्न गएका फुटबल, बक्सिङ जस्ता खेलका केही नेपाली खेलाडी जापानमै बेपत्ता भएपछि विदेशी सञ्चार माध्यममा प्रमुख समाचार बन्न पुगेको थियो । त्यसपछि नेपाली टोलीका अन्य सदस्यलाई जापानी सुरक्षाकर्मीले विशेष निगरानी राखेका अनुभव गर्न सकिन्थ्यो । एसियाली खेलकुद समाप्त भैसकेपछि पनि जापानको टेलिभिजन टोली नेपालसम्म आएर पनि अनुगमन समाचार बनाएको थियो । त्यस्तो दुःखद् अवस्थामा पनि ताइक्वाण्डो र करांतेका खेलाडीले कास्य पदक जितेर मुलुकको इज्जत राखेका थिए ।
धेरैपटक एसियाड खेल्ने खेलाडी
नेपालका टेनिस खेलाडी अभिषेक बास्तोलाले नागोयामा चौथोपटक भाग लिएर धेरैपटक एसियाली खेलकुदमा खेल्ने नेपाली बन्न सफल भएका छन् । उनले सन् २०१४ मा पहिलोपटक दक्षिण कोरियामा आयोजित एसियाली खेलकुदमा १६ वर्षको उमेरमा सहभागिता जनाएका थिए । उनले दोस्रोपटक २०१८ मा इण्डोनेशिया तेस्रोपटक सन् २०२३ मा चीनमा एसियाली खेलकुदमा खेलिसकेका छन् । कुनै पनि महत्वपूर्ण खेलकुद प्रतियोगिता प्रारम्भ हुनु केही समयअघि खेलाडी जम्मा गरी सीमित प्रशिक्षणको भरमा प्रतिस्पर्धा गराउनु नेपालका लागि कुनै नौलो होइन । विगतदेखि नै यस्तै अभ्यास हुँदै आएको छ ।
ओलम्पिक, एसियाड जस्ता ठूला खेलकुद प्रतियोगितालाई लक्षित गरी दीर्घकालीन प्रशिक्षण सञ्चालन नगरिएसम्म यस्ता प्रतियोगितामा यथोचित सफलता असम्भव रहेको छ । खेलकुदमा राजनीति हुनु हुँदैन । मुलुकमा सरकार परिवर्तनपिच्छे राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीको परिवर्तनले पनि खेलकुदको दुरगामी विकासमा असर पार्दै आइरहेको छ । यस्तै खेलकुद परिषद तथा नेपाल ओलम्पिक कमिटीबीच बेलाबखत हुने गरेको मनोमालिन्य पनि खेलकुद विकासको अवरोध बन्न पुगेको छ । ओलम्पिक कमिटीको कार्यालयमा नौ महिना तालाबन्दीले झण्डै यसपालिको एसियाडमा नेपालको सहभागिता गुम्ने अवस्थामै पुगिसकेको थियो ।
विगतमा सन् २०२० सम्ममा ओलम्पिकमा पदक जित्ने लक्ष गरी सुरु गरेको ‘भिजन ट्वाण्टी–ट्वाण्टी’ जस्ता अभियानलाई पछिल्ला पदाधिकारीले निरन्तरता नदिनाले पदक प्राप्तिको दीर्घकालीन लक्ष्य ओझेलमा पर्न गएको थियो । नेपालले एसियाली खेलकुदमा निरन्तर भाग लिदैं आइरहेको भए तापनि प्रत्येक चोटीको सहभागिताको समाप्तिपछि खेल प्रदर्शनबारे यथोचित समीक्षा गरी देखिएका कमी कमजोरी हटाउन उचित योजनासहित सम्बन्धित निकाय क्रियाशील नहुँदा हरेकपटक पदक प्राप्तिमा समेत असर पर्न गएको देखिएको छ । यस सन्दर्भमा ग्वाङझाउ एसियाडबाट खेलाडीहरु फर्केपछि तीन वर्ष लामो प्रशिक्षण गर्ने अवसर पाएका केही खेलका खेलाडी जापानबाट पदक बोकेर फर्कने कुरामा सम्बन्धित प्रशिक्षक आशावादी देखिएका छन् ।
नेपालले परिणामको आँकलन नै नगरी किन यति धेरै खेलमा भाग लियो भन्ने प्रश्न अनुत्तरित रहँदै मुलुकको सहभागितालाई परिणाममुखी बनाउन सम्बन्धित सबैको प्रयत्न महत्वपूर्ण मानिएको छ । खेल अधिकारीहरुले अपेक्षा गरे झैं पहिलोपटक दोहोरो अङ्कसहितको स्वर्ण पदक जित्न नेपाली खेलाडीहरु सफल भएमा नयाँ इतिहास पक्कै लेखिनेछ तर उचित परिणाम प्राप्त हुन नसकेमा त्यसको सम्पूर्ण जिम्मेवारी खेलकुदका जिम्मेवार अधिकारीहरुले लिनुपर्ने हुन्छ । खेल मैदानमा लज्जाजनक पराजय हुँदा मुलुकको पनि प्रतिष्ठा गासिएको हुन्छ । एसियाडमा नेपालको सहभागिता पदकको प्रतिस्पर्धा मात्र नभई विश्व खेलकुदमा नेपालको पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसर पनि भएकाले यसलाई सहभागितामा मात्र सीमित राख्न नहुने टड्कारो आवश्यकता महसुस गरिएको छ । रासस




















