काठमाडौं । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई नेकपा एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
एमाले प्रदेश कमिटी पदाधिकारीको बिहीबार बसेको बैठकले शेर्पालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुखमा निर्वाचित शेर्पामाथि पार्टीविरुद्ध निरन्तर अभिव्यक्ति दिएको तथा पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ। एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जिल्ला कमिटीबाट कारबाहीका लागि सिफारिस भएर आएकाले प्रदेश कमिटीले कारबाहीको निर्णय गरेको बताए।
शेर्पा एमाले प्रदेश कमिटी सदस्यसमेत थिइन्। पार्टी सदस्यबाट निष्कासन भएसँगै उनको उपप्रमुख पदसमेत संकटमा परेको छ। उनलाई स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारीबाट समेत पदमुक्त गर्न एमालेले प्रक्रिया अघि बढाएको जनाएको छ।
एमाले भोजपुरले गत साउन ८ गते शेर्पालाई कारबाहीका लागि प्रदेश कमिटीसमक्ष सिफारिस गरेको थियो।
शेर्पासँगै भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। एमाले भोजपुर जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका प्रधानविरुद्ध जिल्ला कमिटीले गरेको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गरेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(२) मा दलको तर्फबाट निर्वाचित जनप्रतिनिधिमाथि कारबाहीसम्बन्धी व्यवस्था रहेको छ।




















