काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिलाई राजदूतका लागि सिफारिस गरिएको हो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ।
त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शरू जोशीको नाम सिफारिस गरिएको छ।
ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरबका लागि गिरीबहादुर सुनारलाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ।
मन्त्रिपरिषद्को सिफारिसपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो (स्वीकृति) लिन प्रस्ताव पठाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
प्रस्तावित राजदूतहरू:
१) डा. निश्चलनाथ पाण्डे: भारत
२) डा. कल्याणराज शर्मा: चीन
३) चिरनजंग थापा: अमेरिका
४) पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: बेलायत
५) जिग्यानकुमार थापा: जापान
६) सुरेशकुमार कर्ण: इजरायल
७) प्राप्ति शेरचन: स्पेन
८) शरू जोशी: जर्मनी
९) डा. पद्माक्षी राणा: ओमान
१०) चूडामणि खरेल: मलेसिया
११) प्रा.डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरिया
१२) डा. मञ्चला झा: श्रीलंका
१३) गिरीबहादुर सुनार: साउदी अरब




















