काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले शक्तिशाली राष्ट्रले कमजोर देशमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तकको नेपाली संस्करण विमोचन समारोहमा बोल्दै पन्तले शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिको विरोध गरे।
नेपाल र चीनका जनता भगवान् बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्दै उनले बुद्धका शिक्षाले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने बताए।
पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेका विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताए। उनका अनुसार विश्वमा शक्तिशाली देशले आफ्नो कुरा नमानेका कमजोर राष्ट्रमाथि आक्रमण गर्ने र दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको छ।
विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै पन्तले बलियो देशले आफ्नो शक्ति र प्रभावका आधारमा अरूमाथि हैकम चलाउने व्यवस्था स्वीकार्य नहुने बताए।
‘बलियाको नै जित हुनुपर्छ भन्ने तर्क मान्य हुँदैन। बलिया देशले आफूले भनेको मानेन भनेर साना देशमाथि आक्रमण भइरहेका छन्। आफ्ना शर्त नमानेको भन्दै दबाब सिर्जना गर्ने र अहिले व्यापार तथा ट्यारिफ युद्ध चल्ने अवस्था देखिएको छ,’ उनले भने।
ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आवाज उठाउनुपर्नेमा पनि पन्तले जोड दिए।




















