काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हित र जलवायु परिवर्तनका मुद्दा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ शृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा उनले महासभामा सिंगो देश र सबै नेपालीको भावनाको प्रतिनिधित्व हुनेगरी नेपालको धारणा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
सभापति थापाले प्रधानमन्त्री साहका लागि महासभामा सहभागी हुनु पहिलो अवसर भए पनि विगतका सरकारको विरासत बोकेर र आगामी सरकारको अगुवाका रूपमा समेत निर्धक्क भएर नेपालको पक्ष राख्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनका क्षेत्रमा नेपालमै अध्ययन तथा अनुसन्धान गरिरहेका अध्येता र विज्ञको सुझाव लिएर महासभामा प्रमाणसहित विषय प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
सभापति थापाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल बस्ती बसाउने वा नबसाउने, विपद् व्यवस्थापनसम्बन्धी संस्थालाई कसरी बलियो बनाउनेलगायत विषयमा पनि स्पष्ट धारणा आवश्यक रहेको बताए ।
उनले जलवायु परिवर्तनको मुद्दालाई नेपालको प्राथमिकतामा राख्दै हरेक क्षेत्रमा यसको प्रभावबारे प्रमाणमा आधारित भएर अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्नेमा जोड दिए ।




















