काठमाडौँ । खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–८, रातोपुल नजिक सञ्चालित सफिक मासु पसलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा मासु पसल सञ्चालक भारतको सीतामढी घर भएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई हाल काठमाडौँ महानगरपालिका–७ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा महानगरपालिका–३ घर भई हाल रातोपुल बस्दै आएका २१ वर्षीय सुजन रसाइली रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बाख्राको मासुलाई खसीको मासु भन्दै प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ।
गोप्य सूचनाका आधारमा प्रहरी टोली पसलमा पुग्दा भित्रपट्टिको सटरमा बाख्रा काटेर मासु तयार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पसलको पछाडि काट्ने तयारीमा राखिएको एउटा जिउँदो बाख्रासमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















