काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका पहिचान हुन नसकेका ८५ शव काठमाडौंमा पुरिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती शवलाई ‘व्यवस्थापन संरक्षण’का रूपमा जमिनमा पुरिएको हो। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन, २०८३ बमोजिम शवको डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
यसअघि ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए। शवलाई गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा पुरिएको हो।
प्रहरीका अनुसार शवको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा परीक्षणका आधारमा आफन्तले पहिचान गरी दाबी गरेमा शवसम्बन्धी प्रक्रिया अघि बढाउन सकिनेछ। आफन्तले त्यसका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार शवहरूको व्यवस्थापन आईसीआरसीको प्रोटोकलअनुसार गरिएको हो।
भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवमध्ये पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राख्दै गरिएको यो व्यवस्थापनले भविष्यमा आफन्त पहिचान गर्न सहज हुने प्रहरीको भनाइ छ।




















