काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि खटिएको संयुक्त टोली केबल आउटलेट टनेलको पोर्टसम्म पुगेको छ। अहिले सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्ने तयारी भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली घटनास्थलमा परिचालित छ। सुरुङभित्र प्रवेशमा अवरोध बनेका संरचना हटाउने तथा पोर्ट क्षेत्र सफा गर्ने काम तीव्र रूपमा भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।
उद्धार टोलीले सुरुङको क्राउन अर्थात् माथिल्लो भाग पहिचान गरी त्यसलाई एक्साभेटर तथा अन्य उपकरणको प्रयोगबाट खुलाउने प्रयास गरिरहेको छ। अवरोध हटाएर सुरुङभित्र सुरक्षित प्रवेशको अवस्था तयार भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई भित्र पठाइने तयारी गरिएको छ।
ऊर्जा मन्त्रालयका अनुसार पोर्टको मुख सफा गर्ने काम जारी छ। उद्धार टोली सुरुङभित्र प्रवेश गर्दा क्यामरा पनि साथमा पठाइनेछ, जसबाट सुरुङभित्रको वास्तविक अवस्था बाहिरबाट समेत अवलोकन गर्न सकिनेछ।

४२ जना अझै सम्पर्कविहीन
बाढीपछिको घटनामा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट ४२ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोज तथा उद्धारका लागि विशेषज्ञसहितको संयुक्त टोली भदौ १२ गतेदेखि निरन्तर परिचालित रहेको जनाइएको छ।
ड्रिलिङ मेसिन, एक्साभेटर, हाइड्रोलिक कटरलगायतका उपकरण प्रयोग गरी टोलीले क्राउन हेडसम्म पुग्ने प्रयास सफल बनाएको हो।
नेपाली सेनाका अनुसार सुरुङको एक भागमा बनाइएको प्वालबाट अवलोकन गर्दा करिब ७ मिटर व्यासको क्षेत्रमा पानीको सतह निकै माथिसम्म रहेको देखिएको छ।
ब्लास्टिङ गर्नेसम्मको तयारी
सुरुङभित्रको अवरोध हटाएर उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका इन्जिनियरहरूले आवश्यक परे ब्लास्टिङ गर्ने तयारीसमेत अघि बढाएका छन्।
पछिल्लो विवरणअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त खोजी कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना तथा नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली खटिएको छ।
यसअघि उद्धार टोलीले दिउँसो करिब २ बजे सुरुङको मुख्य भाग अर्थात् क्राउन हेडमा पुगेर करिब २×३ फिटको प्वाल बनाएको थियो। त्यसपछि डोरीको सहायताले उद्धारकर्मी तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएको जनाइएको छ।
यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण प्रयोग गर्ने, प्वाल फराकिलो बनाउने तथा आवश्यक परे ब्लास्टिङ गर्ने काम एकसाथ अघि बढाइएको छ।
१८० मिटरभित्र पुगेपछि अवस्था स्पष्ट हुने अपेक्षा
ऊर्जा मन्त्रालयका अनुसार टनेल पोर्टबाट करिब १८० मिटरभित्र पुगेपछि सम्भावित वर्किङ स्पेससम्म पुग्न सकिने अनुमान गरिएको छ।
उक्त स्थानसम्म पुगेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, उनीहरूको सम्भावित स्थान तथा सुरक्षाको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
कठिन तथा अत्यन्त जोखिमपूर्ण परिस्थितिका बाबजुद संयुक्त उद्धार टोली निरन्तर उद्धार कार्यमा खटिरहेको छ।




















