काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।
आइतबार बिहान आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई जोड्ने उक्त झोलुङ्गे पुल बगाएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीको तीव्र बहावले पुल चुँडालेर बगाएको तथा ठूलो क्षति पुर्याएको छ।
यसैगरी, त्रिशूली नदीमाथि धवादी क्षेत्रमा निर्माण गरिएको अर्को झोलुङ्गे पुलमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ।
गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार त्रिशूलीमा आएको बाढीको बहाव अत्यन्त तीव्र रहेकाले अन्य संरचनासमेत जोखिममा परेका छन्। धवादीस्थित झोलुङ्गे पुल पनि बगाउने अवस्थामा पुगेको उनले जानकारी दिइन्।
बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा पूर्वाधारमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




















