काठमाडौं । भारतले नेपालमा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि थप सहायता पठाएको छ। प्राविधिक टोली, राहत सामग्री तथा क्षतिग्रस्त सडक र पुल पुनः सञ्चालनका लागि आवश्यक संरचनागत सामग्रीसहित भारतको चौथो खेप सहायता नेपाल आइपुगेको हो।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ पठाइएको जानकारी दिएका छन्। उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित सुरुङ (टनेल) सम्बन्धी प्राविधिक टोली नेपाल आइपुगेको छ।
त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको दूतावासले जनाएको छ।
भारतबाट पठाइएको राहत सामग्रीमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्रीलगायत रहेका छन्। यो विपद्पछि भारतले नेपाल पठाएको चौथो खेप सहायता हो।
२३० फिट लामो मोड्युलर स्टिल पुल पनि पठाइँदै
बाढीपहिरोका कारण विभिन्न स्थानका सडक तथा पुलमा क्षति पुगेपछि यातायात पुनः सञ्चालनका लागि भारतले संरचनागत सहयोगसमेत पठाएको छ।
विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्।
यसका साथै थप सात वटा बेली ब्रिजका उपकरण र ती जडान गर्न आवश्यक प्राविधिक टोली पनि छिट्टै नेपाल आइपुग्ने जनाइएको छ।
हालसम्म ६८.५ टन राहत सामग्री काठमाडौंमा
भारतले हालसम्म हवाई मार्गबाट कुल ६८.५ टन राहत सामग्री काठमाडौं पुर्याइसकेको जनाएको छ।
यसअघि पठाइएका राहत सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानेकुराका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विभिन्न प्राविधिक उपकरणसमेत समावेश रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपालमा जारी खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्याउन भारतले आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउँदै जाने जनाएको छ।




















