काठमाडौँ । भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री लिएर चीनबाट आएको सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौँ अवतरण गरेको छ।
चीनले पठाएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबाट नवप्रवर्तन मन्त्री महावीर पुनले ग्रहण गरेका छन्।
चीनले बाढीपीडितका लागि त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत विभिन्न सामग्री पठाएको छ। राहत सामग्रीको संख्या करिब १३ हजार २ सय थान रहेको र कुल तौल करिब ५० टन रहेको बताइएको छ।
यसअघि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चिनियाँ विज्ञ टोली शनिबार नै नुवाकोट क्षेत्रमा परिचालित भइसकेको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल र चीनबीच आवश्यक समन्वय भइरहेको जनाइएको छ।



















