काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ। विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ६२ जनाको शव फेला परेको छ। तीमध्ये २६ जनाको शव सात वटा अस्पतालमा राखिएको छ भने ३६ जनाको शव घटनास्थलमै रहेको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ।
यसअघि रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९ र गोरखामा २० जनाको शव फेला परेको थियो। यस्तै तनहुँमा नौ जना र नवलपरासी पश्चिममा छ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
हेलिकप्टरबाट उद्धार गरिएका ५० घाइतेको काठमाडौंमा उपचार
बाढीमा घाइते भई हेलिकप्टरमार्फत उद्धार गरिएका ५० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालमा ३१ जना घाइते उपचाररत छन्। अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराका अनुसार घाइतेमध्ये सात जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका अनुसार केही घाइतेको शल्यक्रिया गरिएको छ भने केहीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।
वीर अस्पतालमा हाल दुई जना घाइते उपचाररत छन्। अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार अस्पतालमा छ जना घाइते ल्याइएकामा तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जनाको आँखामा चोट लागेकाले थप उपचारका लागि आँखा अस्पताल रिफर गरिएको छ।
त्यस्तै, थापाथलीस्थित नर्भिक अस्पतालमा दुई जना र मनमोहन अस्पतालमा एक जना घाइतेको उपचार भइरहेको छ। स्वास्थ्य तथा खेलकुद मन्त्रालयका अनुसार ग्रिनसिटी अस्पताल र वीरेन्द्र अस्पताल, छाउनीमा पनि केही घाइतेको उपचार भइरहेको छ।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावितको उद्धार, उपचार तथा राहत कार्य विभिन्न निकायको समन्वयमा जारी रहेको छ।




















