काठमाडौँ । चीनतर्फ पहिरोका कारण थुनिएको नदीको ताल अझै पूर्ण रूपमा नखुलेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएको छ।
प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले पठाएको पछिल्लो सूचनाले नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको देखाएको छ। बुधबार दिउँसो १ः३५ बजे प्राप्त सूचनाअनुसार चीनतर्फको अवस्था अझै जोखिमपूर्ण रहेकाले नेपालतर्फका नदी तटीय क्षेत्रमा थप सतर्कता आवश्यक रहेको जनाइएको छ।
ताल पूर्ण रूपमा नखुलेको अवस्थामा पानीको ठूलो मात्रा एकैपटक तलतर्फ आउन सक्ने जोखिम रहने भएकाले भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
प्राधिकरणले भनेको छ, ‘चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशूलीको क्षेत्रमा जोखिम कायमै रहेको छ। अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध गर्दछौँ।’
प्राधिकरणले स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र चेतावनीको पालना गर्न तथा अफवाहको पछि नलाग्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।




















