काठमाडौं । रसुवामा आएको भीषण बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ। मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा राख्दै घाइतेको उपचार र आवश्यक परे तत्काल रिफर गर्ने व्यवस्था मिलाएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्रालय बिहानदेखि नै सतर्क अवस्थामा रहेको छ। प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर पनि सक्रिय पारिएको छ।
उनका अनुसार विपद्का बेला घाइतेको उपचार व्यवस्थापनका लागि मन्त्रालयको ‘हब–स्याटेलाइट अस्पताल’ नेटवर्क सक्रिय गरिएको छ। रसुवा र आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचार तथा घाइतेको अवस्था पहिचान गर्ने ‘ट्रायज’ प्रणालीमार्फत उपचार व्यवस्थापन गरिनेछ।
स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई आवश्यकताअनुसार माथिल्लो तहका हब अस्पतालमा रिफर गर्ने पूर्वनिर्धारित विपद् कार्ययोजना पनि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
सम्भावित गम्भीर घाइतेको उपचारका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पतालसहितका प्रमुख हब अस्पताललाई तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रबाट रिफर भएर आउने बिरामीको काठमाडौंका ठूला अस्पतालमा उपचार र व्यवस्थापन गर्ने तयारी गरिएको प्रवक्ता अधिकारीले बताए।
त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समेत समन्वय भइरहेको छ। बिरामीको अवस्था हेरेर स्थानीयस्तरमै उपचार गर्ने वा आवश्यकताअनुसार तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
डा. अधिकारीका अनुसार विपद्जन्य घटनाका लागि प्रत्येक अस्पतालमा पूर्वनिर्धारित कार्ययोजना रहेकाले सोहीअनुसार स्वास्थ्य संयन्त्र परिचालन गरिएको हो। स्थानीय अस्पतालमा उपचार सम्भव नभएमा हब अस्पतालमा रिफर गर्ने र गम्भीर बिरामीको थप उपचार गर्ने प्रणाली अहिले सक्रिय बनाइएको छ।
बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाहरूको यकिन विवरण भने तत्काल उपलब्ध भइसकेको छैन। स्वास्थ्य मन्त्रालयले घाइते तथा प्रभावितको विवरण संकलन र अध्यावधिक गर्ने काम भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिनेछ।



















