चितवन । रसुवातर्फबाट आएको ठूलो बाढी मलेखु पार गरिसकेको र त्रिशूली नदी हुँदै चितवनतर्फ आइरहेको भन्दै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बाढीको ठूलो प्रवाह चितवन आइपुग्ने क्रममा रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ।
बाढीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै त्रिशूली र नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा जान तथा जोखिमयुक्त क्षेत्रमा नबस्न प्रशासनले अपिल गरेको छ। प्रहरीले नदी किनारका बस्ती तथा सम्भावित जोखिम क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई सतर्क गराइरहेको छ।
नदीमा पानीको सतह र बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन प्रहरीले चितवनबाट मुग्लिनतर्फ जाने सवारीसाधन पनि रोकेको छ। त्यस्तै, काठमाडौंबाट नागढुंगा हुँदै चितवन तथा पोखरातर्फ जाने सवारीसाधनलाई समेत प्रहरीले रोकेको जनाएको छ।
बाढीको बहाव मुग्लिन क्षेत्रमा आइपुगेपछि नारायणी नदी आसपासको यातायात व्यवस्थापनमा थप कडाइ गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रशासनले नदी किनारमा नजान, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




















