काठमाडौँ । आज विहान चीनतर्फतबाट रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पुगेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको बताएका छन् ।
बाढीले पुर्याएको क्षति, राहत तथा उद्दारलगायतका विषयमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक गृहमन्त्रालयमा शुरु भएको छ ।
लेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको छ भने नदी आसपासका वस्ती समेत वगाएको बताइएको छ ।
टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ भने रसुवा भन्सार क्षेत्रमा ठूलो सङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू वगाएको बताइएको छ ।
गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल समेत बगाएको बताइएको छ ।





















