काठमाडौं । बागमती प्रदेशमा नेकपाका असन्तुष्ट सांसदहरू मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिन तयार भएका छन्। पार्टी संयोजक प्रचण्डसँग भएको भेटवार्तापछि उनीहरू विश्वासको मत दिने निष्कर्षमा पुगेका हुन्।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूचीसहित आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
नेकपाका सांसद गंगानारायण श्रेष्ठका अनुसार पार्टी संयोजक प्रचण्डसँग भएको छलफलमा तीनवटा विषयमा सहमति जुटेको छ। असन्तुष्ट सांसदहरूले सैद्धान्तिक रूपमा फरक धारणा राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेर सरकार बनाउनु उचित हुने वा नहुने भन्ने विषयमा पार्टीको स्पष्ट नीतिगत निर्णय हुनुपर्ने माग राखेका थिए।
श्रेष्ठले बागमती प्रदेशका दलका नेता र उपनेतालाई समेत सहभागी गराएर केन्द्रीय कार्य संयोजन समिति बैठकमार्फत यस विषयमा नीतिगत निर्णय गर्नुपर्ने माग गरिएको बताए।
असन्तुष्ट पक्षले हाल कायम रहेका आठवटा मन्त्रालयको संख्या थप्न नहुने सर्तसमेत अघि सारेको थियो।
त्यस्तै, गठबन्धनको ठूलो दलको हैसियतमा एक जना सभामुखसहित बाँकी तीन मन्त्रालय नेकपाले पाउने गरी वातावरण बनाउने विषयमा पनि सहमति भएको सांसद श्रेष्ठले बताएका छन्।
उनका अनुसार प्रचण्डले तत्काल मुख्यमन्त्री थापालाई विश्वासको मत दिएर सरकारलाई अघि बढाउन र बाँकी असहमति तथा नीतिगत विषयलाई पछि छलफलमार्फत समाधान गर्दै जान आग्रह गरेका छन्।
सोही सहमतिपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भएका हुन्।
हिजोदेखि काठमाडौंमा रहेका नेकपाका सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले पार्टी संयोजक प्रचण्डसँग भेटवार्ता गरेका थिए।




















