काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
सिजपले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष तथा शीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
सिजपले पीडित तथा पीडित परिवारलाई न्याय दिलाउनका साथै निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार र मनोसामाजिक परामर्शको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। बालबालिकाले घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइन माध्यममा समेत सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा अभियानले जोड दिएको छ।
बालबालिकामाथि हुने हिंसा, यौन दुर्व्यवहार, बलात्कार तथा शोषणका घटनाको प्रभावकारी अनुसन्धान र अनुगमनका लागि उच्चस्तरीय समन्वय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोगलाई थप प्रभावकारी बनाउनुपर्ने माग पनि सिजपले गरेको छ।
स्थानीय तह तथा विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता र अभिभावक शिक्षासम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा समेत उसले जोड दिएको छ।
सिजपले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडित बालबालिकाको गोपनीयता र सम्मानको अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ। पीडितको पहिचान खुल्ने नाम, तस्बिर वा व्यक्तिगत विवरण सार्वजनिक नगर्न तथा घटनासँग सम्बन्धित विभत्स दृश्य सामाजिक सञ्जालमार्फत प्रसार वा शेयर नगर्न पनि अपिल गरिएको छ।
‘बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी हो,’ सिजपले भनेको छ, ‘हरेक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ।’
सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाको प्रभावकारी अनुगमन गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।




















