हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुखले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
राप्रपाभित्र सरकार गठन प्रक्रियामा सहभागी हुने विषयलाई लिएर विवाद चलिरहेकै बेला बागमतीमा नयाँ सरकार गठन भएको हो।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको निर्णयविपरीत कदम चालेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेको छ। बैठकले उनलाई संसदीय दलको नेताको पदबाट हटाउने तथा पार्टीको साधारण सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको बताइएको छ।
केन्द्रीय नेतृत्वको निर्देशनविपरीत किरण थापा मगर नेतृत्वको सरकारमा राप्रपाबाट तीन जना मन्त्री सहभागी हुने तयारीमा छन्।
राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा रहेको बताइएको छ। नयाँ नियुक्त मन्त्रीहरूको शपथग्रहण पनि आजै गराउने तयारी गरिएको छ।




















