हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्रीहरूको जिम्मेवारी टुंग्याउने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट तीन जना मन्त्री बन्ने तयारी भएको छ भने उनीहरूको सपथग्रहण आज अपराह्न ४ बजे हुने बताइएको छ।
दलहरूबीच भएको मन्त्रालय बाँडफाँटअनुसार नेकपा एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको बताइएको छ।
आन्तरिक विवादका बीच प्रदेश सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा छन्। उनीहरूले सम्हाल्ने मन्त्रालय भने अझै टुंगो लाग्न बाँकी रहेको छ।
मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीहरूको सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको बताएका छन्।
‘मन्त्रीको सपथ ४ बजेलाई छ। हामीले संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरेका छौं,’ उनले भने।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र पठाएका थिए। तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले भने प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै पार्टीले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको दाबी गरेकी थिइन्।
पार्टीको केन्द्रीय नीति विपरीत सरकारलाई समर्थन गरेको आरोपमा संसदीय दलका नेता थापामाथि कारबाहीको तयारीसमेत भइरहेको बताइएको छ। पार्टीले उनलाई स्पष्टीकरण सोधिसकेको छ।
यद्यपि, मन्त्री बन्न लागेका विष्टले पार्टीभित्रको कारबाही प्रक्रियाबारे आफूलाई खासै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘त्यो कुरा के हो थाहा भएन। हेर्दै जाऔं, बुझौं के हुन्छ,’ उनले भने।
उनले संसदीय दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकी कुमारी तामाङ प्रमुख सचेतकको जिम्मेवारीमा नरहेको समेत दाबी गरेका छन्। ‘उहाँ पहिल्यै हटिसक्नुभएको छ,’ विष्टले भने।
केन्द्रीय नेतृत्वको असहमति
यता राप्रपाको केन्द्रीय नेतृत्वले भने बागमती प्रदेश सरकार गठनमा पार्टीको औपचारिक समर्थन नरहेको स्पष्ट पारेको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यक्तिले दिएको समर्थनलाई दलको समर्थन मान्न नसकिने बताएका छन्। उनले १२ जना प्रदेशसभा सदस्य रहेको राप्रपाबाट एक जना सांसदले एक्लै सरकारलाई समर्थन दिन नसक्ने जिकिर गरेका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समेत केन्द्रीय नीतिविपरीत सरकारलाई समर्थन गरेको विषयमा संसदीय दलका नेता उद्धव थापामाथि कारबाहीको तयारी गरिरहेको स्रोतले जनाएको छ।
यद्यपि, थापाले भने मन्त्रीहरूको सपथग्रहण नरोकिने बताउँदै आएका छन्।




















