हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सोमबार बागमती प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए। त्यसपछि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको थियो।
प्रदेशसभामा बहुमत सदस्यको समर्थन जुट्ने अवस्था नदेखिएपछि बानियाँले विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनुको सट्टा प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) का दुई गरी ३८ सांसदको मात्र समर्थन आफ्नो पक्षमा देखिएपछि बानियाँले राजीनामा दिने निर्णय गरेका हुन्।
बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। आफ्नै दलभित्र शक्ति प्रदर्शन गर्दै प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका बानियाँ करिब एक वर्षमै पदबाट बाहिरिन लागेका हुन्।
प्रदेशसभामा सम्बोधन गर्दै बानियाँले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा विभिन्न काम गरेको दाबी गरे। अझै धेरै काम गर्न बाँकी रहे पनि बदलिएको राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपर्ने अवस्था आएको उनले बताए।
उनले संवैधानिक तथा संसदीय व्यवस्थाअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहेको उल्लेख गरे।
‘हामीले जुन उद्देश्यका लागि संवैधानिक तथा संसदीय व्यवस्था अपनायौँ, त्यसअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्नुपर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहे,’ मुख्यमन्त्री बानियाँले भने।




















