काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी इजलास गठन गरेको आरोप लगाएका छन्।
शुक्रबार बारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताको आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्ने बताए। तर प्रधानन्यायाधीश शर्माले आफूअनुकूल इजलास गठन गर्ने गरेको उनको आरोप थियो।
मिश्रले वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने र त्यसपछि प्रधानन्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दालाई समेत सोही इजलासमा पठाउने कार्य स्वीकार्य नहुने बताए।
यस्ता गतिविधिविरुद्ध नेपाल बार चुप लागेर नबस्ने चेतावनीसमेत उनले दिए। यस विषयमा प्रधानन्यायाधीश शर्माको ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए।
‘अहिले न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको छ। संवैधानिक इजलास कि त वरिष्ठताका आधारमा कि त गोलाप्रथाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो,’ मिश्रले भने।
उनले निश्चित मुद्दालाई टिप्पणी उठाएर संवैधानिक इजलासमा पठाउने अभ्यास सुरु भएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए।
‘वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने, अनि प्रधानन्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गर्ने र संवैधानिक इजलासमा समेत निश्चित मुद्दाहरू राख्ने भएपछि अब बार चुप लागेर बस्दैन भन्ने तपाईंहरूले बुझिसक्नुभयो होला,’ उनले भने।
अध्यक्ष मिश्रले स्वतन्त्र, स्वच्छ र सरकारबाट पृथक न्यायपालिका बारको मुख्य चाहना रहेको बताए। सरकारका कामको आवश्यक नियन्त्रण गर्न सक्ने तथा कानुनबमोजिम न्याय सम्पादन गर्ने सक्षम न्यायपालिका आवश्यक रहेको उनको भनाइ थियो।
न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको टिप्पणी गर्दै उनले न्यायालयलाई स्वतन्त्र र प्रभावकारी बनाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
मिश्रले पछिल्लो समय न्यायपालिकामा एकपछि अर्को विवाद उत्पन्न भइरहेको भन्दै त्यसप्रति चिन्तासमेत व्यक्त गरे।




















