काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वृद्धि गरिएको सरकारी कर्मचारीको तलबमान, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता निर्धारण गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ।
अर्थ मन्त्रालयले बुधबार जारी गरेको परिपत्रअनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिवको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ। मुख्य सचिवको सुरुआती स्केल ८४ हजार ९३२ रुपैयाँ रहनेछ भने ग्रेड जोडिएपछि उक्त रकम ९० हजार ५९४ रुपैयाँ पुग्नेछ। नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिव सरह नै निर्धारण गरिएको छ।
त्यसैगरी, विशिष्ट श्रेणीका सचिवको कुल मासिक तलब ८४ हजार ५७६ रुपैयाँ तोकिएको छ। अवकाश प्राप्त सचिवले मासिक ६६ हजार ५३९ रुपैयाँ पेन्सन पाउने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक (एआईजीपी) तथा स्वास्थ्य सेवाका बाह्रौँ तहका अधिकृत र संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरह कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद् सेवा, स्थानीय तहलगायत विभिन्न सरकारी सेवाका कर्मचारीको तलब, ग्रेड र भत्तासम्बन्धी व्यवस्था पनि नयाँ तलबमानअनुसार लागू गर्न निर्देशन दिएको छ।
































