काठमाडौं । सस्तो मूल्यमा सुन उपलब्ध गराइदिने बहानामा ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरी हवल्दारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनारसमेत रहेका छन्।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्रहरी हवल्दारसहित चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार आरोपीहरूले “सस्तो दरमा सुन दिन्छौं” भन्दै व्यक्तिलाई बोलाएर रकम लिएपछि आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी बताउँदै ६० लाख रुपैयाँ लुटपाट गरेका थिए।
घटनामा संलग्न पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















