ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानी नगरे महानगरपालिकाले नै तिर्ने बताएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर महर्जनले बीमाबापतको रकम नपुग्दा अस्पताल सञ्चालनमा समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भुक्तानी नहुँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी आफूले लिनुपर्ने अवस्था आउने उल्लेख गरे।
‘अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर। बीमाबारे कुरा गर्दा मन्त्रीज्यूसँग कुरा गर्दा रिंगटा लागेझैँ भयो,’ उनले भने, ‘कथम् कदाचित यो स्वास्थ्य केन्द्र सरकारको भुक्तानी नआउँदा बन्द गर्नुपर्यो भने सबैभन्दा बढी आलोचना मैले नै व्यहोर्नुपर्ने हुन्छ। पाटन अस्पताललाई दिनुपर्ने रकम समयमै उपलब्ध गराइयोस्।’
मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे। ‘यदि नेपाल सरकारले ललितपुर महानगरपालिकालाई यो भुक्तानी गरिदिनु भनेर पत्र दियो भने म भुक्तानी गर्न तयार छु, जे परे पनि,’ उनले भने।
उनले पाटन अस्पतालको प्राविधिक सल्लाह र सुझावअनुसार अर्को नयाँ स्वास्थ्य केन्द्र निर्माण भइरहेको जानकारी पनि दिए। सो केन्द्र निकट भविष्यमै सञ्चालनमा ल्याइने उनले बताए।
‘पाटन अस्पतालकै सुझावअनुसार आवश्यक सुविधा जडान गरिएको नयाँ स्वास्थ्य केन्द्र निर्माण गर्दैछौँ। सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत रहेर अझ प्रभावकारी सेवा दिन सक्नेछौँ,’ महर्जनले भने।
नयाँ केन्द्र सञ्चालनमा आएपछि नगरवासीले राष्ट्रिय स्वास्थ्य बीमार्फत गुणस्तरीय सेवा पाउने र ललितपुर महानगरपालिका तथा पाटन अस्पतालबीचको सहकार्य देशभरका स्थानीय तहका लागि उदाहरणीय हुने उनको भनाइ छ।
‘देशका ७५३ स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो अभ्यास सबै पालिकाका लागि नमुना बन्न सक्छ,’ उनले भने।
मेयर महर्जनले ललितपुर महानगरपालिका ७५२ स्थानीय तहमध्ये उदाहरणीय पालिका बन्न सफल भएको दाबी पनि गरे।




















