काठमाडौं । गायिका ज्योति मगरले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) र उसका समर्थकमाथि कडा टिप्पणी गरेकी छन् । उनले राजनीतिमा प्रवेश गरेका पत्रकार, कलाकारलगायत व्यक्तिहरूसँग देशलाई दीर्घकालीन निकास दिने स्पष्ट भिजन नभएको आरोप लगाएकी छन् ।
आज फेसबुक स्टाटस लेख्दै मगरले रा.स्व.पा. समर्थकहरू उम्मेदवारको गैरजिम्मेवार अभिव्यक्तिबारे आलोचना हुनासाथ एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेसँग जोडेर फलानोको तिलोनो भन्दै गालीगलौजमा उत्रिने गरेको उल्लेख गरेकी छन् । “देश केपी र एमालेमय मात्रै रहेछ जस्तो देखिन्छ,” उनले लेखेकी छन्।
उनले संसदमा पुग्ने होडमा लागेका नयाँ नेताहरू पाँच वर्षसम्म सुविधा र सम्मान पाउने तर त्यसपछि के हुने भन्ने प्रश्न पनि उठाएकी छन्। “समानुपातिक नै सही, पाँच वर्ष त प्रहरीको सलामी, सरकारको सुविधा, कर्मचारीदेखि ठेकेदारसम्मको काँध पाउनेछन्, त्यसपछि के ?” भन्दै उनले व्यंग्य गरेकी छन्।
मगरले राजनीतिमा होमिएका पत्रकार, कलाकार तथा अन्य व्यक्तिलाई प्रश्न गर्दै उनीहरूमा देशलाई दीर्घकालीन रूपमा स्वाधीन र समृद्ध बनाउने कस्तो भिजन छ भन्ने स्पष्ट पार्न चुनौती दिएकी छन्। “तपाईंहरूमा देशलाई निकास दिने, स्वाधीन र समृद्ध बनाउने के भिजन छ ?” भन्ने उनको प्रश्न छ।
उनको स्टाटस सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।




















