काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली प्रहार गरी चोरीका एक जना आरोपीलाई ६५ तोला सुनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी रहेका छन्।
काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले विशेष सूचनाको आधारमा गएराति नागार्जुन क्षेत्रमा चौधरीलाई पछ्याएको थियो।
गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए।
घटनामा एक जना प्रहरी हवल्दार सामान्य घाइते भएका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम तथा घरेलु हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न मुख्य आरोपी हुन्।
यसै साता भोटेबहालमा करिब २५ तोला सुन चोरी भएको थियो भने गत मंगलबार बौद्ध टुसालस्थित एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएका थिए। त्यस्तै कालिमाटी र ललितपुरका विभिन्न स्थानमा पनि नगद तथा गरगहनाको चोरीका घटनाहरू भएका थिए।




















