काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
असंवैधानिक रूपमा संसद् विघटन गरिएको आरोप लगाउँदै उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका हुन्। ‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले उक्त प्रदर्शन आयोजना गरेका हुन ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै प्रदर्शनकारी युवाहरूले संविधानको रक्षा हुने गरी फैसला आउने विश्वास व्यक्त गरेका छन् । साथै, अदालतमा दायर मुद्दाको छिटो टुंगो लाग्नुपर्ने मागसमेत गरेका छन् ।
देशलाई विधि र संविधानअनुसार सञ्चालन गर्न संसद् पुनर्स्थापना अनिवार्य रहेको उनीहरूको तर्क छ।
प्रदर्शनमा सहभागी युवाहरूले ‘संविधान बचाऊ’, ‘संसद् फर्काऊ’, ‘लुटिएको संसद् फिर्ता गर’, ‘विघटित संसद् पुनर्स्थापना गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।




















