काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
तनहुँका काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दायित्व अत्यधिक बढ्दै जाँदा बोर्ड गम्भीर दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो। पछिल्लो समय ठूला सरकारी अस्पतालहरूले नै सूचना जारी गर्दै स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् भने केही अस्पताल बन्द गर्ने तयारीमा रहेका छन्।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ। तर अर्थ मन्त्रालयले हालको मोडलमै बीमा कार्यक्रम सञ्चालन भए थप अनुदान उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ।
सरकारबाट आवश्यक सहयोग नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम नै गम्भीर संकटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।



















