काठमाडौं । छठ पर्व सकिएलगत्तै आन्दोलन सुरु गर्ने घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले छलफलका लागि बोलाएका छन्।
प्रसाईंले आइतबार सम्पादकहरूसँगको भेटघाट कार्यक्रममार्फत आफूले गर्न लागेको आन्दोलनबारे जानकारी दिएका थिए। सो अवसरमा उनले हालको राजनीतिक व्यवस्था नै उल्टाउने गरी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनले समर्थकहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीको जोहो गर्न समेत आह्वान गरेका थिए।
यसअघि, प्रसाईंले घोषणा गरेको आन्दोलनलाई ध्यानमा राख्दै गृहमन्त्रालयले पनि उनलाई संवादका लागि बोलाएको थियो। सो निर्णयअघि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा मूल्यांकनबारे बैठक गरेकी थिइन्।
सो छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए। बैठकमा प्रसाईंको प्रस्तावित आन्दोलन, त्यसले निम्त्याउन सक्ने सुरक्षा चुनौती र व्यवस्थापन उपायहरूबारे विचारविमर्श भएको स्रोतले जनाएको छ।
यही तयारीका बीच काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरूले दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएको बताइएको छ। उनीहरू प्रसाईंसँग उनको आन्दोलनका उद्देश्य, स्वरूप र सम्भावित प्रभावबारे जानकारी लिन इच्छुक रहेको प्रशासनिक स्रोतको दाबी छ।

























