बिहानको चिसो र शान्त हावामा घरबाट निस्कँदा बिहानको साढे पाँच बजेको थियो । सडकहरू अझै निद्रैमा डुबेका जस्ता देखिन्थे, तर मेरो मनमा भने उत्साहले छाल उठाइरहेको थियो । यो कुनै सामान्य यात्रा मात्र थिएन, १५ जेठको गणतन्त्र दिवसलाई विशेष तरिकाले मनाउन हामी कानून न्याय तथा सामाजिक कल्याण मन्च नेपालका पन्ध्र जना सदस्यले त्रिशूली नदीमा राफ्टिङ गर्ने योजना सहितको यात्राका पाइला अघि बढेका थिए । त्यो क्षणमा मलाई उत्साह र डर दुवै महसुस भइरहेको थियो ।
त्रिशूलीमा राफ्टिङ गर्दा चरौदी देखि फिसलीङ र फिसलीङदेखि मुग्लीन २ वटा रुट रहेछ । पहिलो चरौदी देखिएको यात्रामा जोखिम र मनोरञ्जन दुवै समावेश रहेछ । यो यात्रा अझै रोमाञ्चक किन भयो भने हाम्रो यात्रा भन्दा एक दिनअघि मात्र लगातार भारी वर्षा भएको थियो ।भारी वर्षाका कारण चरौदीदेखि शुरु भएको यात्रामा जोखिम छ भनी गार्डले फोनमार्फत हाम्रो दाई नविन कार्कीलाई जानकारी दिँदै कम अफसेट भएको, मुग्लीनको रुटमा राफ्टिङ गर्न आग्रह गरे पनि हामी पूरानो अनुभवी छौँ भनी जोखिम एवं मनोरञ्जन रहेको भागमा नै अघि बढ्ने जानकारी गराउनु भयो, त्यही अनुरूप तयारी हुँदै थियौं । राफ्टिङ नगर्ने भए पनि अस्वस्थताका बावजुद पनि आफ्ना सबै पीडालाई छाडी हाम्रो यात्रामा साथ दिनु भएका यस मन्चका अध्यक्ष जगन्नाथ मिश्रज्यूले हामीलाई हौसला दिँदै त्रिशूली नदी सम्मको सामूहिक तस्बिर लिँदै सोहि मोटरमा हाम्रो गन्तव्यमा पर्खनको लागी फर्किनु भयो ।
राफ्टिङ गार्डले दिएको गाइडलाइन, अनि जोखिम भएमा स्वयं जिम्मेवारी लिनुपर्ने कुरा भएको फर्म भर्न लगाएछि एकछिन त हामीलाई त्रास बनाएपनि राफ्टिङ शुरु गर्न बोटमा चढे पछि भने बेग्लै आनन्द भयो ।वर्षाको कारण नदीको धार असामान्य रूपमा तीव्र थियो त्रिशूलीको पानी गहिराई सहित खैरो रङमा पछि धमिलो भई बहिरेको थियो, छालहरू ठूला र आक्रामक देखिन्थे, नदीको गर्जन नै डर जगाउने खालको थियो । यस्तो परिस्थितिमा पहिलो पटक राफ्टिङको अनुभव लिन लाग्दा हामी सबैको मनमा उत्साहसँगै हल्का त्रास पनि मिसिएको थियो । यो भन्दा अगाडीको त्रिशुलीको राफ्टिङको अनुभव रहे पनि यस पल्ट धमिलो खोला, उर्लदो भेल, खोलाको तिव्र बहावको कारण गीता तिमिल्सिना दिदिको नाबालक छोरा नितिन काफ्ले सम्म लिएर गएकोमा पहिलो रयापिडमा पर्दा नबिन दाई अलि त्रसित भए पनि नितिन काफ्लेको उत्साह साथ प्याडल चलाएको देखेर दाई उत्हित भई लेफ्ट प्याडल नेतृत्व गर्नु भयो ।
पन्ध्र जनाको हाम्रो टोली यात्राको थकान नभनी हास्यरस र हल्का गफगाफ गर्दै बिहानीको शहर छाड्दै अघि बढ्दै थियौँ । हाम्रो टिममा शारदा गुरुङ, भद्रमाया दाहाल, ज्योति सापकोटा, सीता भट्ट गीता तिम्सिना काफ्ले म्याडम समेत रहनु भएकोमा उहाँहरुको हौसला र प्रिय साथी अस्मिता तिमिल्सिनाको साथले यात्रा अझ रमणिय रह्यो । गुलाबी उज्यालोले आकाश रंगिन थालिसकेको थियो । कुहिरोले ढाकिएका डाँडापाखाहरूको बिचबाट घुमाउरा बाटोहरू पार गर्दै हामी नदीतिर उत्रि रहेका थियौँ । हामीलाई साथ दिन गए पनि जगन्नाथ मिश्र सर अस्वस्थताका कारण हामी गएको गाडीको सिटमा सुतेर होटल तर्फ लाग्नु भएकोमा कता कता खल्लो लागेको थियो । उहाँ हाम्रो मार्गदर्शक प्रेरणाको स्रोत हुनुहुनथ्यो । यस्ता अद्धेय व्यक्तित्वलाई छाडी अगाडी बढदा खल्लो रहेको अनुभव कमल सुवेदी दाई र ज्योति सापकोटा दिदिले पटक पटक व्यक्त गर्दा यात्रा नुन विनाको तरकारी झैँ लागि रहेको थियो ।कोही कोही साथीको पहिलो राफ्टिङ हुने भएकाले मजाक गर्दै कसले पहिले नदीमा खस्ला भन्ने कौतुहलता हामी माझ भइरहेका थियो । यसरी गणतन्त्र दिवसलाई रमाइलो मात्र नभई चुनौतीपूर्ण अनुभवको रूपमा मनाउने निर्णयले हामीलाई अझ उत्साहित बनाएको थियो ।

चरौँदी सुरुवाती स्थलमा पुग्दा नदीको दृश्यले हामीलाई केही क्षण शान्त बनायो । त्रिशूलीको तिव्र बहाव चाँदी झैँ चम्किरहेको थियो, तर वर्षापछि पानीको रङ खैरो थियो र छालहरू निकै शक्तिशाली देखिन्थे । पानीको लगातार गर्जन सुन्दा मनमा हल्का डरको लहर चल्यो । साथीहरूको अनुहारमा पनि उत्साह र डरको मिश्रण देखिन्थ्यो । हामी मध्य कतिको पहिलो राफ्टिङ र अनुभव नभएका कारण नबिन दाइ त हाम्रो विषयमा अलि बढी नै तनावग्रस्त देखिनुहुन्थ्यो, उहाँको मुस्कानले उहाँको मनको डर स्पष्ट झल्काएको थियो ।
मार्गदर्शकहरूले आत्मविश्वासका साथ हामीलाई स्वागत गर्दै लाइफ ज्याकेट र हेलमेट बाँडे । उहाँहरूको स्थिर आवाजमा ‘फरवार्ड प्याडल, ब्याक प्याडल, होल्ड अन भन्ने आदेशहरू बुझाउँदै प्रशिक्षण दिइयो तर मेरो मुटु यति तेज धड्किरहेको थियो कि आधा कुरा मात्र कानमा परेको जस्तो लाग्यो । जब हामी डुङ्गालाई पानीतिर धकेल्दै गयौँ, नदीको बहावले हामीलाई स्वागत गर्दै केही चुनौतीपूर्ण संकेत दिएको जस्तो लाग्यो । यस्तो लाग्यो की नदी आफै हामीहरुलाई सोद्धै छ ” तिमीहरु तयार छौ ?
पहिलो पटक पानीमा बोट बगाउँदा सबथोक शान्त थियो । नदी मध्यम गतिमा बगिरहेको थियो, वरिपरिको पहाड र हरियालीले वातावरणलाई सुन्दर बनाएको थियो ।आकाशमा चराहरू उडिरहेका थिए र नदीको सतहमा घामको किरण चम्किरहेको थियो । मलाई लाग्यो, सायद यो यति डर लाग्दो छैन होला । तर त्यसबेला हामीले पहिलो ठूलो छालको आवाज सुनेर होस खुल्यो ।
मार्गदर्शकको कडा आवाज गुञ्जियो: “फरवार्ड” हामी सबैजना तागतका साथ पैडल चलाउँदै अघि बढ्यौँ । नदीको तीव्र धारले हाम्रो डुङ्गालाई समातेको थियो । पानीको छालहरू हाम्रो अनुहारमा प्रहार गर्दै आएका थिए शारदा मेमको डराएको आवाज सुन्दा हामी सबैजना डर र रमाइलोको मिश्रणमा हाँस्न थाल्यौँ । त्यो अदभुत क्षणले हाम्रो डरलाई उत्साहमा परिणत गरायो ।
छाल र बगाएको पानीसँगको संघर्षले हामीलाई नडराउने बनायो । प्रत्येक छाल पार गर्दा आत्मविश्वास बढ्दै गयो । एकआपसमा तालमेल मिलाएर पैडल चलाउनु हामी सबैको स्वभाव नै बनेको थियो । त्रिशूलीले कहिले हामीलाई झट्का दिन्थ्यो, कहिले शान्त भएर बग्थ्यो । कहिलेकाहीँ डुङ्गा बगाउँदा वरिपरिको दृश्यले मन शान्त पार्थ्यो, हरियाली डाँडापाखा, ढुंगाको चट्टानबाट झर्ने साना धारा, र नदी किनारबाट हात हल्लाउनेको दृश्य त्यतिकै रिचक एंव मन स्पर्सी थियो ।
तर नदीले हाम्रो परीक्षा लिन अझै बाँकी राखेको रहेछ । एउटा ठुलो छाल आयो र हामी सबैलाई टाउकोदेखि खुट्टासम्म भिजाइदियो । केही क्षण त डुङ्गा पल्टिन्छ कि जस्तो लाग्यो, तर हामीले आफ्नो तालमेल गुमाएनौँ । त्यो क्षण पार गरेपछि हामी सबैले चिच्याउँदै उत्सव मनायौँ । अब त शारदा मेम पनि डराउने होइन, सबैभन्दा धेरै हाँस्ने मान्छे बन्नुभएको थियो ।
करीब दुई घण्टा तीस मिनेटको राफ्टिङ क्षणभरमै बित्यो जस्तो लाग्यो । जब हामी अन्तिम स्थान फिस्लिङमा पुग्यौँ, हाम्रो शरीर थकित भए पनि अनुहारमा मुस्कान थियो । हामी एकअर्कालाई अँगालो हाल्दै नदी किनारमा हाँस्दै बस्यौँ । त्यो क्षणमा हाम्रो आपसी सम्बन्ध अरू भन्दा गहिरो भएको महसुस भयो । हामी अब साथी मात्र होइन, एउटै यात्रामा संघर्ष र रमाइलो बाँडेका सहयात्री थियौँ ।
फर्किने बस यात्रा लामो भए पनि रमाइलोले भरिएको थियो । बीचैमा खाजा र खाना खाँदै हामीले यात्रा सम्झ्यौँ— को कसरी चिच्यायो, कसले धेरै ताकतका साथ पैडल चलायो, कसको लाजमात्रै बाँच्यो । मध्यरात पार गरेर साढे एक बजे जब शहर फर्कियौँ, शरीर थकित थियो तर मन हलुका र खुसी थियो ।
गणतन्त्र दिवस यसरी मनाउनु साह्रै अर्थपूर्ण लाग्यो । त्रिशूली नदीको धार जीवनकै प्रतिबिम्ब झैँ लाग्यो कहिले शान्त, कहिले उग्र, तर सधैँ सुन्दर । वर्षापछि आएको तीव्र धार र खैरो रङको पानीले हाम्रो अनुभवलाई अझै चुनौतीपूर्ण र अविस्मरणीय बनाएको थियो । त्यस दिनले हाम्रो डर पखाल्यो, थकान पखाल्यो र आत्मबल बढायो । त्यो अनुभवले हामीलाई प्रकृतिसँग नजिक मात्र बनाएन, हाम्रो देशको सुन्दरता र स्वतन्त्रताको मूल्य पनि झल्कायो ।
आज पनि आँखा बन्द गर्दा मलाई अझै नदीको चिसो पानीको छाल अनुहारमा लागिरहेको जस्तो लाग्छ, साथीहरूको हाँसो उत्साह साथ गुन्जिरहेको सुनिन्छ, र घामको किरणमा चम्किरहेको त्रिशूलीको सतह देखिन्छ । त्यो गणतन्त्र दिवसमा नदीले हामीलाई बगाएको मात्र थिएन, यसले हामीलाई जीवनभरको सम्झना पनि उपहारमा दिएको थियो ।
(लेखक कानुन न्याय तथा सामाजिक कल्याण मञ्च-नेपालमा आवद्ध हुनुहुन्छ ।)

























