काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल, प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूसँग ४६ करोड १५ लाख ८४ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।
अख्तियारका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता गरी उक्त रकम बराबरको भ्रष्टाचार गरिएको हो।
प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, सोही आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनी स्लाट जेभीको मुख्य काम गर्ने यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चिनिया सीएएमसी र यसको मुख्य भई काम गर्ने वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झियाङलाई प्रतिवादी बनाइएको छ। उनीहरुलाई कसुर अनुसार छुट्टा छुट्टै सबिगो कायम गरिएको छ।
उनीहरूको मिलेमतोमा विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिदमा व्यापक अनियमितता भएको अख्तियारको दाबी छ।
यो पोखरा विमानस्थलसँग सम्बन्धित दोस्रो भ्रष्टाचार मुद्दा हो। यसअघि पनि सोही प्रकरणमा मुद्दा दायर भइसकेको छ भने उक्त मुद्दा अझै विचाराधीन छ। आरोपी अधिकारी भने अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्।




















