काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । जेनजी आन्दोलन भड्किएसँगै प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा आगो लगाएका छन् ।
जेनजी प्रदर्शन निषेधित क्षेत्र तोड्दै बानेश्वरतर्फ अघि बढेको र भिड नियन्त्रण बाहिर गएपछि कफ्यु आदेश जारी भएको हो । केही प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका पछि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु आदेशजारी भएको हो ।
यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायत गर्न पाइने छैन ।

























