काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोकमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
आइतबार राति करिब पौने २ बजे बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सिरहा, जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय एक पुरुषको मृत्यु भएको बुढानीलकण्ठ प्रहरी प्रवक्ताले जानकारी दिए। दुवै जनालाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले राति सवा २ बजे मृत घोषित गरेका हुन्।
मृतकमध्ये एक जनाको सनाखत हुन बाँकी रहेको र दुवैका आफन्तहरू सम्पर्कमा नआएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ–८, भंगाल बसोबास गर्ने २४ वर्षीय एरिक परियार, र नाम, थर तथा वतन नखुलेका २८–३० वर्ष र ३०–३२ वर्षका दुई पुरुष घाइते भएका छन्।
पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।
























