काठमाडौं, साउन २३ । ब्राभित्र कन्डममा प्याक गरी लुकाइएको करिब दुई किलो कोकिनसहित एक ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, २१ वर्षीया इमिलि मिकेल सान्तोश फेरिरा नामकी महिलाले कालो ब्राभित्र कन्डममा प्याक गरिएको १ किलो ९५० ग्राम कोकिन लुकाएर नेपाल भित्र्याएकी थिइन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवन निरौलाका अनुसार, उनलाई विमानस्थलको प्रस्थान कक्ष नजिकैबाट नियन्त्रणमा लिइएको हो। ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी ती महिला भुटान जान तयारीमा रहेको बताइएको छ।
ब्युरोले अदालतबाट म्याद लिएर उनलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ।
























