काठमाडौं, साउन १६ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, बस्तीपुरमा शुक्रबार दिउँसो रुख ढल्दा दुइ जनाको ज्यान गएको छ भने तीन जना बालबालिका घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार दिउँसो करिब ३:३० बजेको समयमा वर्षाका कारण ओत लाग्न बसेको टहरामा सालको ठूलो रुख ढल्दा उक्त दुर्घटना भएको हो। पहिरो र वर्षाले कमजोर बनेको जमिनबाट रुख उखेलिँदै टहरामाथि खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनामा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूसहित पाँच जना बालबालिका ओत लाग्न टहरामा बसेका थिए।
घटनामा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् । घाइतेमध्ये सिर्जना र सन्ध्याको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ। सुशील थिङको उपचार स्थानीय पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको जनाइएको छ।
स्थानीय तह र प्रहरी टोली घटनास्थलमा खटिएको छ भने पीडित परिवारलाई आवश्यक सहयोगका पहलहरू सुरु गरिएको जनाइएको छ।
























