काठमाडौँ । लगातारको वर्षापछि चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५) र कालिका गाउँपालिका १ रहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ । भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । सयौ गाडी बगाएको छ भने रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ।
त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ भने धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प रहेको पनि प्रहरीले जनाएको छ।