काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले चार जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीका कारण करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
प्रभावित आयोजनाहरूमा रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट), त्रिशूली थ्री ‘ए’ (६० मेगावाट), चिलिमे हाइड्रोपावर (२१ मेगावाट) र बेनी हाइड्रोपावर (१९ मेगावाट) रहेका छन्।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सबैभन्दा ठूलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ। बाढीले आयोजनाको बाँधको गेट र आयोजनाअन्तर्गतको पुल समेत बगाएको छ।
त्रिशूली थ्री ‘ए’ को प्रशासनिक भवनमा बाढी पसेको र अन्य दुई आयोजनामा सामान्य क्षति भएको जानकारी दिइएको छ। यद्यपि चारै आयोजनामा मानवीय क्षति भने नभएको प्राधिकरणले स्पष्ट पारेको छ।
५० जनाको उद्धार
रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा बाढीले फसाएका ५० जनाको सफल उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरेको हो।
उद्धार गरिएकामध्ये ४ जना महिला र ४६ जना पुरुष रहेका छन्, जसमा १ जना चिनियाँ नागरिक पनि छन्। प्रहरीका अनुसार सबैलाई झोलुङ्गे पुलको सहायताले सुरक्षित स्थानमा ल्याइएको हो।
बाढीका कारण मानवीय क्षति नहुँदा पनि पूर्वाधारमा परेको असरले आगामी दिनमा विद्युत् आपूर्तिमा अस्थायी असर पर्न सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रको स्थिति मूल्यांकन र पुनःस्थापनाका कामहरू तीव्र पारिने जनाइएको छ।