काठमाडौं । धान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास परिसरमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी हुनु भएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सबिता पौडेल, नेपाली सेनाका प्रतिनिधिहरू, शीतल निवासका कर्मचारी तथा उनका परिवारका सदस्यहरू सहभागी थिए ।
कार्यक्रममा धान रोपाइँको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई केवल जीवन निर्वाहको माध्यम होइन, आधुनिक र व्यावसायिक बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले कृषिलाई रोजगारीको मुख्य आधार बनाउँदै अन्न उत्पादनमा समर्पित कृषकहरूको सम्मान गर्नुपर्ने धारणा राख्नु भयो ।
“कृषिसँग सम्बन्धित सबैखाले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्दै कृषकहरूलाई अन्नदाता भनेर चिनाउनुपर्छ,” उहाँले भन्नु भयो ।
रोपाइँपछि परम्पराअनुसार दही चिउरा खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपाली समाजमा असार १५ का दिन धान रोपाइँसँगै दही चिउरा खाएर उत्सव मनाउने चलन छ ।