काठमाण्डाै । काठमाण्डौ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ । पटक–पटक भाका सार्दै सम्पन्न भएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
शिलालेख छोपिएको कपडा प्रधानमन्त्रीले उघारे पछि रिबन काटेर उद्घाटन गर्न भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रधानमन्त्री ओलीलाई कैंची दिन खोजेका थिए । तर, ओलीले पछाडि हेर्दै ट्राफिक प्रहरीको खोजी गरेपछि शर्माले केही पछाडि रहेका उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीलाई अगाडि आउन संकेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले नै खोजेपछि एसएसपी अधिकारी मुस्कुराउँदै अगाडि आएर अभिवादन गरे । ओलीले उनलाई कैंची दिँदै रिबन काट्न संकेत गरेपछि ट्राफिक प्रमुख अधिकारीले रिबन काटेका थिए ।
ओभरपासबाट गाडी चल्न थालेपछि ग्वार्कोमा जाम नहुने सडक विभागले जनाएको छ । ओभरपास बन्नुअघि र बनिरहँदा ग्वार्कोमा घण्टौं जाममा बस्नुपर्ने अवस्था थियो । सातदोबाटो, कोटेश्वर, मङ्गलबजार र इमाडोल जोड्ने ग्वार्को चोक पहिलेदेखि नै गाडीको चाप हुने ठाउँ हो ।
अब सातदोबाटो र कोटेश्वरतर्फ गुड्ने गाडी ओभरपासबाट चल्नेछन् । मङ्गलबजार र इमालडोलतर्फ जाने गाडी ओभरपासमुनिबाट ओहोरदोहोर गर्नेछन् । सातदोबाटो र कोटेश्वरतर्फ चल्ने गाडी विना व्यवधान ओहोरदोहोर गर्ने भएकाले ग्वार्कोमा जाम नहुने भएको हो । अब ग्वार्कोको जाम सातदोबाटो र कोटेश्वरमा सर्ने सम्भावना देखिएको छ ।
ग्वार्को ओभरपासअन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल बनेको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाएर ओभरपास बनाइएको हो ।
२०७८ फागुन १२ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ३ वर्षभन्दा बढी समय लागेको छ ।

























