काठमाडौं । काठमाडौंको कलंकीस्थित एक स्कुलको परिसरमा सोमबार दिउँसो भएको भ्यान दुर्घटनामा ९ वर्षीया बालिकाको ज्यान गएको छ भने सात जना विद्यार्थी घाइते भएका छन् ।
दिउँसो करिब १२:५० बजे काठमाडौं महानगरपालिका–१४ मा रहेको इडिफाइ इन्टरनेसनल स्कुलको विद्युतीय माइक्रो भ्यान स्कुलको गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सर्लाहीकी सोनाक्षी यादव, जो हाल कुलेश्वर बस्दै आएकी थिइन्, गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको भए पनि १:३६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए, काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
घटनामा अन्य सात जना विद्यार्थी घाइते भएका छन्, जसको अस्पतालमा उपचार जारी छ ।

























