काठमाडौँ। राजधानीको नागढुंगा चेक प्वाइन्टबाट करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्यको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुवाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गर्दा ३१ वर्षीय भारतीय नागरिक महादेव सामन्तको साथबाट २७४.८३ ग्राम सुन बरामद भएको हो ।
नेपाल रत्न तथा आभूषण संघका अनुसार, बरामद सुनको आजको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ रहेको छ । पक्राउ परेका सामन्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।