काठमाडौं । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो। बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ।
कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ। ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द गर्दै हिँडेका व्यवसायीबीच धकेलाधकेल भएको छ। अहिले प्रतिक्षालयमा यात्रु अलपत्र भएका छन्। बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन्। स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन्।
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसी बताउँछन्।
यातायात व्यवस्था ऐन २०४९ अनुसार, निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो । तर, २०८१ असार १३ गते सर्वोच्च अदालतले सबै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो । राइड सेयरिङ सेवाहरू विश्वका धेरै देशहरूमा सञ्चालित छन् ।

























