काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघले आफ्ना मागहरुप्रति वेवास्ता गरेर सरकारसँग सहमति गरेको भन्दै नारावाजी गरेका छन् ।
सरकार र महासंघबीच बुधवार भएको सहमतिबारे जानकारी दिन नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजी गरेका हुन । त्यसअघि कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो । कर्मचारीको विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा कार्यक्रमबाट बाहिरिएका थिए ।
सरकार र शिक्षक महासंघबीच सहमतिप्रति असन्तुष्टी जनाउँदै विद्यालय कर्मचारी परिषद्को आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने ‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं, महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्यो । यसमा हाम्रो विमत्ति छ ।’
कर्मचारीको काँधमा टेकेर शिक्षक नेताहरुले आफ्नो स्वार्थ सिद्दी गरेको र सहमति गर्दा कर्मचारीहरुलाई पूर्णरुपमा वेवास्ता गरिएको अध्यक्ष तिवारीले बताएका छन् ।
“केही दिनअगाडि महासंघका अध्यक्ष र महासचिवसहित बसेर गरिएको निर्णय नै हाम्रो संस्थागत धारणा हो । लेखापाललाई खरदारसरह ३२ हजार ९०२ रुपैयाँ र श्रेणीविहिन सहयोगी भनेर २६ हजार ८२ रुपैयाँ तलव दिने भनेर अध्यक्षले नै ल्यापटपमा टाइप गर्नुभएको हो । अनि विदा सुरक्षित गर्ने कुरा पनि थियो । २०८२÷८३ बाट तलवमान बढ्ने कुरामा हामी ढुक्क थियौं ।’ उनले भने ।
अध्यक्ष तिवारीले भने “अस्ति साँझ वैठक बस्दै गर्दासम्म पनि नौ बुँदाको कुरा मलाई थाहा थिएन । हिजो राति ८ बजे नौ बुँदा मेरो हातमा पर्यो । मैले चित्त नबुझेर मन्त्रीहरुकै अगाडि पछारेको हुँ । तर महासंघको अध्यक्ष मौन बस्नुभयो । सहअध्यक्ष, महासचिव र उपमहासचिव पनि बोल्नुभएन । मलाई एक्लो पारियो । हामीलाई किन धोका दिइयो भनेर आज समिक्षा वैठकमा काठमाडौंमा उपलब्ध साथीहरुलाई उपस्थित बनाएको थिएँ । समिक्षा वैठकमा महासंघका महासचिवले खरर बोल्ने र अध्यक्षले समापन गरे हिँड्ने योजना रहेछ । मैले ठाडो अब्जेक्सन गरेपछि विवाद भएको हो ।”
सरकारसँगको वार्तामा आफू पनि बसेको बताउँदै तिवारीले भने “म वार्तामा अन्तिमसम्म बसेको थिएँ । बुझ्छन् कि, बुझ्छन् कि भनेर अन्तिमसम्म बस्दै गर्दा पनि उहाँहरुको त्यहाँनिर ध्यान केन्द्रित भएन । अध्यक्ष र महासचिवलाई कतिबेला सही गरौं भन्ने मात्रै छटपटी थियो । अनि अहिले आएर झूटको खेति गरेर हुन्छ ? असारको १५ गते ऐन ल्याउँछु भनेर हुन्छ ? हिजो अध्यक्षले नै जितिन्छ कि बितिन्छ भनेर नारा ल्याएको होइन ? अहिले दुनियालाई छल्ने ? ठूला कुरा गरेर हुन्छ ? हामी भर्याङ मात्रै भयौं । परिषदमा पछिल्लो समयमा अलिकति प्रतिवाद गर्न सक्ने नेतृत्वहरु छौं । प्रतिवाद गर्न सक्ने नेतृत्व उहाँहरुलाई अपाच्य भएको हो ।”
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबारमात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।