काठमाडौँ । चलचित्र ‘एक्टर टेक वान’ भोलि शुक्रबारबाट प्रदर्शन हुने भएको छ । बिहीबार चलचित्र रोक्न माग गर्दै अदालतमा पुगेको चलचित्र ‘एक्टर’ का निर्माता र ‘एक्टरस् टेक वान’का निर्माताहरूबीच सहमति भएपछि एक्टर टेक वानलाई प्रदर्शनका लागि बाटो खुलेको हो ।
चलचित्र एक्टरका निर्माताले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै मंगलबार जिल्ला अदालत काठमाडौँले चलचित्र प्रदर्शन रोक्न आदेश दिँदै २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
एक्टर र एक्टर टेक वानका निर्माताहरुबीच भएको सहमति अनुसार ‘एक्टर टेक वान’को क्षतिलाई रोक्दै प्रतिलिपि अधिकार सम्बन्धी दायर निवेदन फिर्ता लिन एक्टरका निर्माता सहमत भएका हुन ।
सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले हस्ताक्षर गरेका छन् ।
उक्त सहमतिसँगै फिल्म ‘एक्टरः टेक वन’ पक्षले यसको शुक्रबारबाट चलचित्र प्रदर्शन हुने जानकारी गराउन आजै आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
निर्देशन राजन भुसाल, कलाकार प्रदीप खड्का, दिव्य रायमाझी लगायत कलाकार उपस्थित पत्रकार सम्मेलनमा नवनायिका रायमाझी निकै भावुक भइन् । बोल्दाबोल्दै भक्कानिएकी उनले रिलिजको एक दिन अगाडि फिल्म नै रोकिने भन्दा आफूलाई एकदमै दुःख लागेको बताइन् । प्रिमियरले एकदमै खुसी भएकी आफू एक्कासी फिल्म रोकिएको न्युज थाहा पाउँदा के गरुँ, कसो गरुँ भएको बताउँदै यस्तो समस्या नयाँ कलाकारले मात्रै होइन, कसैले पनि भोग्न नपरोस् भनेकी छिन् ।
त्यस्तै अभिनेता प्रदीप खड्काले प्रदर्शनको अघिल्लो दिन चलचित्र रोकियो भन्दा त्यसको कारण जेसुकै भए पनि यो देशमा गरिखान गाह्रै छ भन्ने कुराको ज्वलन्त उदाहरण सामना गर्नु परेको बताए । एक दुई दिन एकदमै तनावग्रस्त रुपमा बितेको पनि बताए ।