काठमाडौं । भोलि अर्थात माघ १६ गते प्रदर्शनको मिति तय भएको चलचित्र ‘एक्टर टेक वान’ को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतले चलचित्रको प्रदर्शन २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो ।
चलचित्रको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर सम्राट थापाले अदालतमा निवेदन दिएका थिए । आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाउँदै उनले अदालतमा निवेदन दिएका थिए । अदालतले उनको माग बमोजिम तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो । अदालतले दुवै पक्षलाई माघ २२ गते छलफलका लागि झिकाउन भनेको छ ।
फिल्म ‘एक्टर’ को निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न शुक्रबार अदालतमा रिट दायर गरेको थियो । यस कम्पनीका सञ्चालक मनोहरि थापा हुन् । उनको फिल्म ‘एक्टर’ गत ४ माघमा प्रदर्शनमा आएको थियो ।
मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले सुनुवाइ गरी फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको सँघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टरः टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नू नगराउनू भनी चलचित्र विकास बोर्डसमेत विपक्षीको नाममा अल्पकालीन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’
राजन भुसाल निर्देशित, थमन भण्डारीले निर्माण गरेको प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी स्टारर ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर भइसकेको छ भने अग्रिम बुकिङसमेत खुलिसकेको थियो । अब टिकट बुक गरेका दर्शकलाई फिल्म प्रदर्शकले पैसा फिर्ता दिनुपर्ने भएको छ ।