काठमाडौं । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहन सहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताए ।
उनले भने,“म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्ष सम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु । मैले निर्माण भइरहेका भन्दा केही फरक कथा र विषयलाई दर्शक सम्म ल्याउने कोसिश गरेको हुँ ।”
निर्देशक गौचनले सामाजिक सञ्जाल बाट भेटिएका दुई पात्र बिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए । सोही कारण उनले चलचित्रका अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई समेटेका छन् । उनले दुई मात्रको मनोविज्ञान र रहन सहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने बताए ।
“चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाज भन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफू भित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भने ।
चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायत कलाकारले अभिनय गरेका छन् ।
यो चलचित्र माघ ११ गते देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।