काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्नेबारे थुनछेक बहस जारी रहेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । आइतबार समय अभावका कारण थुनछेक बहस हुन सकेन ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार सुरु भएको थुनछेकमा सरकारी पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।
जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने सरकारी पक्षका वकिलहरूको तर्क छ ।
‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ,’ इजलासमा सरकारी वकिलले तर्क गरेका छन् ।
सहकारी पीडितहरू अझै पीडित भइरहेको अवस्थामा उनीहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने उनीहरुको दलिल छ ।
सरकारी वकिलहरू सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल र खडिन्द्रराज कटुवालको बहस सकिएको छ भने अझै ६ जना सरकारी वकिल बहस गर्ने तयारीमा छन् ।
सरकारी वकिलको तर्फबाट बहस सकिएपछि मात्र पीडित पक्षका कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् ।
त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।